इंग्ल्याण्डसँगको पाँचौ टेष्टमा भारतका नायरको ३०३

0

नेपालगन्ज, ५ पुस ।

भारतका करुण नायरले इंग्ल्याण्डसँगको पाँचौ तथा अन्तिम टेष्टको पहिलो पालीमा ३ सय रन पूरा गरेका छन् ।

नायरको नट आउट ३ सय ३ रनको मद्दतमा भारतले पहिलो पालीमा २ सय ८२ रनको अग्रता लिएको छ । यो टेष्टमा भारतका ओपन लोकेश राहुल दोहोर शतक पूरा गर्नबाट १ रनले चुके पनि नायरले तेहेरो शतक नै पूरा गरेका हुन् ।

इंग्ल्याण्डसँगको जारी श्रृंखलाको तेश्रो टेष्टमा डेब्यु गरेका नायरले यसअघि जम्मा १७ रन मात्र बनाएका थिए । नायरको ३ सय रन पूरा भएसँगै भारतका कप्तान विराट कोहलीले पाली समाप्तीको घोषणा गरेका थिए ।
पाली समाप्तीको घोषणा गर्दा भारत ७ विकेट गुमाएर ७ सय ५९ रनको स्थितिमा थियो । यो भारतले टेष्ट क्रिकेटमा बनाएको अहिलेसम्मकै उच्च रन हो ।
२५ वर्षे नायरले बनाएको ३ सय ३ रन टेष्ट क्रिकेटमा बनेको २७ औं धेरै रन हो । नायर तेहेरो शतक पूरा गर्ने भारतका दोश्रो ब्याट्सम्यान हुन् । यसअघि भारतकातर्फबाट विरेन्द्र सहबागले तेहेरो शतक पुरा गरेका थिए । टेष्ट क्रिकेटमा सबैभन्दा धेरै ४ सय रन बनाउने कीर्तिमान भने वेष्ट इण्डिजका ब्रायन लाराको नाममा छ ।

भारतसँग पहिलो पालीमा ४ सय ७७ रनमा अल आउट भएको इंग्ल्याण्डलाई यो टेष्ट नहार्न अन्तिम दिन इंग्ल्याण्डले दिनभर ब्याटिङ गर्नु पर्ने छ ।

Share.

Leave A Reply